Monday, July 11, 2011

मुद्दा लड्दै चार पुस्ता

गुठीको हक र न्याय पाउनकै लागि जिजुबाजेदेखि पनातीसम्म चार पुस्ताले अदालत र कार्यालयको ढोका चाहार्दै छन् भन्दा अचम्म नमाने हुन्छ ।
काभ्रे, खोपासीका भक्तराज भारती यस्ता पनाती हुन् । जो जिजुबाजे महन्त नरबहादुर भारतीद्वारा २०१७ सालमै दायर भएको मुद्दामा अहिले नेपाल विद्युत प्राधिकरणविरुद्ध लड्दै छन् ।
काभ्रे, खोपासीस्थित नरसिंह मठ गुठीको जग्गालाई कानून बमोजिम अधिग्रहण नगरि हडपेको भन्दै गुठीका महन्त नरबहादुर भारतीले नेपाल विद्युत प्राधिकरण(तत्कालीन विद्युत विभाग) विरुद्ध मुद्दा दायर गरेका थिए ।
तत्कालीन पनौती जलविद्युत आयोजना बनाउन गुठीको नाममा रहेको १३२ रोपनी ११ आना २ पैसा जग्गा प्राधिकरणले लिएको थियो । २०१७ सालमै त्रुटीपूर्ण तरिकाले विद्युत विभागले आफूसँग जति रकम छ त्यति नै दिने भनि जग्गाधनी गुठीलाई भन्दा मोहीलाई धेरै रकम भुक्तानी दिएको थियो ।
त्यतिखेर खेत प्रति रोपनीको ९ सय र बारीको ७२५ रुपैंया मूल्यांकन गरिएको थियो । मोहीले ६ सय र जग्गा धनी गुठीले ३२५ रुपैंया पाउने भएपछि गुठी नाश हुने भयो भन्दै महन्तले मुद्दा दायर गरेका हुन् ।
अदालतमा मुद्दा चलिरहेकै अवधि २०३३ सालमै गुठी संस्थानले रोक्का राखेको र महन्तले दाबी गर्दै आएको खोपासी–१ स्थित कित्ता नं ६४१ र ६४५ मालपोत कार्यालयले प्राधिकरणकै नाममा त्यत्तिकै दर्ता गरिदिएको छ ।
गुठीको नाममा चक्रवृद्धि व्याजसहित भुक्तानी दिनु भनि प्राधिकरणलाई सर्वोच्च अदालतले ०४६ सालमै आदेश दिएको थियो । ‘हामीले गुठीको भत्केको भवन, पूजाआजा चलाउन र नारायण भगवान रहेको मन्दिर पुननिर्माण गर्नका लागि रकम चोहका हांै’, भक्तराजले भने ।
पछि गुठी संस्थानले समेत २०१७ सालकै मूल्यांकनको चक्रवृद्धि व्याज सहित नरसिंह गुठीलाई रकम दिन लगेको प्रस्ताव पनि प्राधिकरणमा त्यतिकै थन्किएको छ । गुठी संस्थानले २०४६ सालसम्मको १६ लाख २ हजार ११२ दिन अनुरोध गरेका थियो । भक्तराजले सोही अनरुप हालसम्मको १ करोड ४३ लाख ४ हजार २६४ मागदावी गरेका छन् ।
हाल पनौती नगरपालिकाको वडा नं १२ मा पर्ने यस जग्गाको चलचल्तीको मूल्य प्रति रोपनी ३० लाख रहेको छ । यही हिसाबले पनि नरसिंह मठ गुठीले ३९ करोड ६० लाख पाउनु पर्ने हुन्छ ।
तत्कालीन सरकारले महन्त नरबहादुर भारतीलाई नेपालका वैज्ञानिक भनेर ‘त्रिभुवन पुरस्कार’ प्रदान गरेको थियो । गुठीको हक दिलाउन चौंथौं पुस्तासम्म लडिरहेका भक्तराज आफ्ना जिजुबाजेलाई सरकारले गरेको सम्मानको सरकारी तवरमै अपमान भएको मान्न थालेकाछन् ।
मुद्दा लड्दै गर्दा भक्तराजका जिजुबाजे बिते । हजुरबा रामचन्द्र भारती पनि ७८ वर्षसम्म अदालत र प्राधिकरणको मुख्य कार्यालय धाउने क्रममै बिते । त्यसपछि पालो आयो भक्तराजका बाबु हालका महन्त रामेश्वर भारतीको । उनी पनि थाकेपछि भक्तराजको काँधमा आएको हो, यो पुस्तौनी जिम्मेवारी ।
गुठी जग्गाको हक कायम गर्न मुद्दा लड्नुपर्दा र प्राधिकरण धाउँदा भारतीले थप आर्थिक भार बेहोर्नु परेको छ । ‘गुठीको जग्गा मास्नु हुन्न भन्दै अहिलेसम्म घरकै जग्गा जमीन बेच्दै मुद्दा लडिरहेको थियौं । त्यो पनि सकियो । अब के गर्ने चिन्ता लागेको छ,’ भक्तराजले भने । ‘अहिले ऋण लिएरै निर्णयका लागि जाने÷आउने गरेको छु ।’ मुद्दाका नाममा जति नै ऋण लागे पनि गुठीको हक कायम भएमा चित्त बुझाउने उनले बताए ।

No comments:

Post a Comment