Sunday, July 3, 2011

एकै क्लिकले सफल किसान


गुगल, याहुजस्ता इन्टरनेटको सर्च इन्जिन नभेटेको भए काभ्रे, नासिकास्थान साँगा–७ का ६० वर्षिय प्रेम लामा यतिखेर कुनै बोर्डिङ स्कूलमै पढाइरहेका हुन्थे । तर, उनलाई १० वर्ष अघि एउटा कुरा खोज्नका लागि सर्च इन्जिन गुगलमा गरेको एक क्लिकले बोर्डिङको मास्टरबाट सफल किसान बनाइदिएको छ । इन्टरनेटबाटै उनले आफूलाई नेपाल र विश्वभर चिनाएका छन् । लामाको १० वर्षको मेहनतबाट सिर्जिएको आशापुरी अर्गानिक फार्म इन्टरनेटबाटै संसारभरि फैलिएको छ । ‘खोजे के भेटिन्न र इन्टरनेटमा’, मेलम्चीकै अर्का फार्ममा हिँडेका लामाले बनेपास्थित हिमालयन भेटेरीनरी क्लिनिकमा ल्यापटपमै कृषिका कुराहरु सर्च इन्जिनमै खोज्दै देखाउँदै भने, ‘मलाई नयाँ नयाँ खेतीका तरिका सिकाउने, बजार खोज्न मद्दत गर्ने गुरु यही इन्टरनेट हो ।’
उनले व्यावसायिक रुपमै अर्गानिक खेतीमात्रै नभई सूचना प्रविधिको प्रयोगबाट बढी मूल्य पाइने तरकारी र विश्व बजारमा माग बढी माग भएका तरकारीको खेती पनि गर्न थालेका छन् ।
लामाले इन्टरनेटकै माध्यमबाट दक्षिण अमेरिकामा मात्रै व्यावसायिक रुपमा खेती हुने याकूनलाई नेपालमै खेती गर्न थालेका छन् । ‘विश्व बजारमा अत्यधिक माग रहेको याकून(ग्राउण्ड एप्पल) नेपाली हावापानीमा खेती हुने जानकारी पाएपछि यहाँ पनि थालेको हुँ,’ लामाले भने ।
सुरुमा परीक्षणका रुपमा १०० रोपनीमा गरेको खेतीबाट राम्रो आम्दानी भएपछि गाउँमै थप १ सय रोपनी र सिन्धुपाल्चोकको मेलम्चीमा समेत १ सय रोपनीमा याकून खेती बिस्तार गरेका छन् । ‘याकूनले मधुमेह, रक्तचाप, मोटोपना, ग्यास्ट्रिक, पेटका रोगहरुमा फाइदा गर्ने कुरा इन्टरनेटमै रहेछ,’ याकूनको गुणहरु वर्णन गर्दै उनले भने । उनले याकूनको चिया बनाउने तरिका पनि इन्टरनेटबाटै पाएका छन् । ‘याकूनको पातबाट तयार हुने यो चिया सेवन गर्दा डायबिटीज र सुगर नियन्त्रण हुँदो रहेछ’ उनले थपे । नेपालमा नेटवर्कका नाममा यस्ता चियाहरु विक्री हुने गरेको छ । नेपालमा १ सयमै तयार हुने यस्तो चियालाई बढी तिर्नु परेको छ, उनले भने ।
इन्टरनेटबाट चिनी उत्पादनमा धेरै केमिकलहरु प्रयोग हुने जानकारी पाएपछि लामाले प्राकृतिक चिनीको खोजी गरेका रहेछन् । स्टेभिया नामको हब्र्स चिनीभन्दा ३ सय गुणा गुलियो हुने थाहा पाएपछि उनले यसको व्यावसायिक रुपमै खेती गर्न थालेका छन् । विदेशबाटै बीउ मगाएर स्टेभियाको खेती थालेका उनी आगामी वर्षसम्ममा यस प्राकृतिक चिनीलाई बजारमा ल्याउने अभियानमा जुटेका छन् ।
लामाले इन्टरनेटबाटै सिटाके(रातो च्याउ)को जानकारी पाएर खेती गर्न सुरु गरेका छन् । काठको मूढामा लामो समय लगाएर उत्पादन गरिने यस च्याउको विदेशमा मात्रै नभई स्थानीय बजारमा समेत राम्रो भाउ पाइने उनको भनाई छ, ‘फार्मबाटै केजीको ८ सय रुपैयामा सजिलै बिक्री हुन्छ’, उनले थपे ।
विदेशीहरु के के खाएर लामो उमेरसम्म हृष्टपुष्ट हुँदा रहेछन् भनेर लामाले इन्टरनेटमै खोजी गर्दा उनीहरु प्रत्येक दिन कुनै न कुनै सागपात, हब्र्स खाने कुरा पत्ता लगाएछन् । हामी नेपालीले सागमा रायो, पालुङ्गो, चम्सुर खाने गरेका छौं । उनीहरु त रोजमेरी, तुलसी, धनियाँ, सूपजस्ता हब्र्स र लेटूसका सयौं जातलाई सलादको रुपमा खाँदा रहेछन् । उनले भने ।
यही जानकारी पाएपछि सलादमा प्रयोग हुने लेटुसका विभिन्न १२ जातहरु, रोजमेरी, तुलसी, धनियाँ, पार्सलीको अर्गानिक तरिकाले खेती गरेका छन् । विदेशीले औधी रुचाउने भएकाले विदेशबाटै तरकारीको बीउ मगाएर खेती गर्न थालेको उनको भनाई छ ।
उनले गाजर, प्याज, काउली, ब्रोकाउली, बन्दा, कुरिलो, लसुनलगायत स्थानीय तथा विदेशी बजारमा माग रहेका थप ६० किसिमका तरकारी अर्गानिक तरिकाले खेती गरिरहेका छन् ।
अगार्निक उत्पादन स्वास्थ्यका लागि फाइदाजनक भएकाले काठमाडौंमै र विश्व बजारमा अत्यधिक माग रहेको र राम्रो भाउ समेत पाइने उनले बताए ।
आफूले उत्पादन गरेको तरकारीको परिमाण, मूल्यसूची, उत्पादन लिन ठिक्क भएका तरकारीहरुबारे लामाले वेबसाइटमै जानकारी दिन थालेका छन् । वेबसाइट हेरेरै विदेशी र काठमाडौंका उपभोक्ताले उनलाई तरकारीको अर्डर गर्ने गरेका छन् ।
बिहान पाँचबजे साँगामा टिपेर प्याक गरिएका गाजर, प्याज, काउली, ब्रोकाउली, बन्दा, कुरिलो, लसुन, गोलभेंडा, रायोको साग, लेटूस साग, हब्र्सहरु काठमाडौं हुँदै सिल्क एअरको फ्लाइटबाट भोलिपल्ट सिङ्गापुरका भान्सामा पाक्ने गरेको छ । हप्ताको दुइपटक यसरी पठाइने अर्गानिक तरकारी र खाद्यवस्तुको माग निरन्तर बढ्न थालेपछि उनको फार्मको उत्पादनले मात्र नपुग्ने भएको छ । इन्टरनेटको माध्यमले लामाले थालेको अर्गानिक उत्पादनहरु सम्पन्न मुलुक सिङ्गापुरका भान्छाहरुमा पाक्छन् । ७ वर्षदेखि यो प्रक्रिया निरन्तर चलिरहेको उनी बताउँछन् ।
उनलाई अर्गानिक उत्पादन खाँदै आएका नियमित ग्राहकहरुले शुक्रबारसम्ममा इमेल पठाउँछन् । त्यही अनुसार साँगाको आशापुरी फार्मबाट शनिवार साँझ तरकारी र अन्य उत्पादनहरु लिएर काठमाडौं छिर्छन् । आइतबारका दिन सबैको घरघरमा अर्गानिक उत्पादनहरु डेलिभरी दिन्छन् ।

उनी भन्छन्–‘रासायनिक मल र विषादि प्रयोग नगरिएका तरकारी र खाद्यपदार्थको खोजी गर्नेहरुको संख्या पनि पछिल्लो समयमा ह्वात्तै बढेको छ ।’ नेपालको स्वादलाई तारिफ गर्दै उनीकहाँ थुप्रै इमेलहरु पनि आउने गरेको छ । उनी भन्छन्–‘मैले पाएको धन्यवाद भनेकै केमिकल नभएको तरकारी र खाद्यान्न खुवाएको भनेर हो ।’

No comments:

Post a Comment