Wednesday, July 6, 2011

सार्कक्षेत्रमा विषादी र केमिकलको प्रयोग बढ्दो


धुलिखेल । सार्क मुलुकका कृषि विज्ञहरुले यसक्षेत्रमा बढ्दो रासायनिक मल र विषादिको प्रयोगप्रति चिन्ता व्यक्त गर्न थालेका छन् ।

‘बढी उब्जाउने होडमा माटो र वातावरणलाई ख्याल नै नगरि केमिकलहरु प्रयोग ग¥यौं । यतिखेर पछुताउनु पर्ने अवस्था आएको छ’ बंगलादेश कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक मोहम्मद मनोवर हुसेनले भने ।

सार्क सचिवालयले धुलिखेलमा आयोजना गरेको लाभदायक सूक्ष्म जिवाणु केन्द्रीत दीगो तथा वातावरण मैत्री खेती प्रणालीको वृद्धि सम्बन्धि क्षेत्रिय कार्यशालाका सहभागी सार्क मुलुकका कृषि विज्ञहरुले यस्तो चिन्ता गरेका हुन् । ‘सार्क राष्ट्रहरुमा पछिल्लो समयमा माटो समेत बिग्रन थालेको छ’ भुटानको कृषि तथा वन मन्त्रालयकी सुपरिवेक्षक छिरिङ डेमाले जानकारी दिइन् । उनका अनुसार नेपालजस्तै भु–धरातल भएको भुटानमा पनि विस्तारै कृषि उत्पादनमा ह्रास आउन थालेको छ ।

‘छिमेकी मुलुक भारत एक्लैले हरेक वर्ष २.२ बिलियन डलरको विषादी उत्पादन गर्दै आएको छ । यी सबै उत्पादनहरु विरुवाको खाद्य र रोगकीराबाट सुरक्षाका लागि उपयोग हुँदै आएको छ । यसबाट पनि यसक्षेत्रमा विषादी र केमिकलको प्रयोग बढ्दो रहेको प्रमाणित हुन्छ,’ नेपाली कृषि विज्ञ खड्गभक्त पौडेलले बताए ।

सार्कका सबै सदस्य मुलुकहरुमा रासायनिक मल र विषादिहरुमा आधारित खेती बढ्दो रहेकोले सार्कको चौधौंदेखि सत्रौं सम्मेलनमा लगातार यसक्षेत्रमा दिगो खेती प्रणालीको विकास हुनु पर्ने आवाज उठ्दै आएको थियो । गत अक्टोबरमा सार्कको कृषि तथा ग्रामीण विकास प्राविधिक समितिको छैठौं वैठकले लाभदायक सूक्ष्म जिवाणु केन्द्रीत दीगो तथा वातावरण मैत्री खेती प्रणालीको वृद्धि गर्दै जाने नीति लिए अनुसार नेपालमा कार्यशालाको आयोजना गरिएको हो । कार्यशालामा बंगलादेश, भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाका कृषि विज्ञहरु सहभागी छन् ।

कार्यशालामा नेपालको कृषि तथा सहकारी मन्त्रालयका सचिव नाथुप्रसाद चौधरीले बढ्दो केमिकल र विषादीको प्रयोगले माटोमात्र बिग्रने नभई मानव स्वास्थ्यमा समेत असर पर्ने गरेको बताए । ‘लगातारको विषादी र केमिकलको प्रयोगले क्यान्सरसमेत लाग्ने भएकाले जैविक विषादी र जैविक पदार्थको आयात र प्रयोगमा जोड दिइएको छ’, चौधरीले थपे । नेपालले समेत दिगो खेती प्रणालीको अनुसन्धान र विकासका लागि नार्कअन्र्तगत रहने गरी नेसनल बायोटेक्नोलोजी सेन्टरको सुरु गर्न लागेको उनको भनाई छ ।

No comments:

Post a Comment