Sunday, July 10, 2011

चियापसलमै विषादी व्यापार

श्याम भट्ट/मधुसुदन गुरागाईं,

पाँचखाल (काभ्रे), असार २६-
नाला-५ का तरकारी किसान एवं विषादी व्यवसायी हिरालाल श्रेष्ठले नौ वर्षअघि बनेपाबाट एक सय २५ रुपैयाँको विषादी ल्याएर यसको व्यापार सुरु गरेका थिए।

अहिले उनी वार्षिक ३० लाखको विषादी कारोबार गर्छन्। नौ वर्षअघि उनी एक्ला विषादी व्यवसायी थिए, अहिले गाविसमै उनीजस्ता १९ कारोबारी छन्।

काभ्रे एग्रोभेट एसोसियसनका महासचिव सुवासकुमार धितालका अनुसार काभ्रेमा विषादी बिक्री वार्षिक रूपमा बढ्दो छ। जिल्लामा इजाजत लिएका विषादी व्यवसायीको संख्या ७२ रहे पनि बिनादर्ता थुप्रै पसल सञ्चालनमा छन्। 'अझ मौसममा त चियादेखि किरानापसलमा समेत विषादी किन्न पाइन्छ,' उनले भने। पाँचखालमा वैधानिक पसल १० वटा भए पनि ५० भन्दा बढीले यो कारोबार गर्दै आएका छन्।

उपत्यकालगायत तराईमा तरकारी आपूर्ति गर्दै आएको नालामा अहिले एक हजार रोपनीमा गोलभेंडामात्रै रोपिएको छ। डेढ रोपनी खेतमा गोलभेंडा लगाएका हिरालालले यसमा बिहीबारसम्म ४० हजार रुपैयाँको विषादी प्रयोग गरिसकेको बताउँछन्। 'प्रयोग नगरेर के गर्ने? गोलभेंडा बचाउनै सकिन्न,' उनले भने।

नालामै ६ रोपनीमा गोलभेंडा फलाएकी रामप्यारी सापकोटाले भनिन्, 'बर्खामा त हरेक पाँच दिनमा विषादी छर्नुपर्छ, तैपनि कीरा मर्दैनन्।'

काभ्रेका प्रमुख विषादी वितरक पाँचखाल बिज भण्डारका प्रोपराइटर सरोज सापकोटाका अनुसार २५ वर्षअघिको तुलनामा अहिले विषादी व्यापार बीस गुनाले बढेको छ। 'मेरो २५ वर्षे व्यावसायिक जीवनमा विषादी व्यवसाय २० गुनाले फस्टाएको छ।'

प्रयोगकर्ता र व्यापारी बढे पनि यसको अनुगमन गर्ने सरकारी निकाय भने छैन। जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत र विषादी इन्स्पेक्टर मधुसुदन पौडेलका अनुसार तीन वर्षको विषादी खपतले वार्षिक ३० देखि ४५ प्रतिशतसम्म खपत बढेको पाइन्छ। कुनै विषादी खपत त दोब्बर बढेको छ।

कृषिविज्ञले समेत पाँचखाललाई विषादी प्रयोगको 'हट स्पट' मानेका छन।

किसानहरूले विषादीको प्रयोग गर्दा कृषिविज्ञसँग सल्लाहै नलिने पौडेल बताउँछन्। 'हामीसँग मुखमात्रै छ, व्यवसायीसँग तरकारी रोगको उपचार छ, उनीहरूले जे दियो, किसान त्यही प्रयोग गर्छन्,' उनले भने।

जिल्ला कृषि विकास कार्यालयका अनुसार विषादी अत्यधिक प्रयोगले माटोको जैविक जिवाणु मर्ने क्रम बढ्दो छ। एउटै प्रजातिको खेती गर्दा बालीमा लाग्ने रोग रहिरहने र कीरामा समेत विषादी प्रतिरोध क्षमता बढ्दै गएकाले विषादी प्रयोगको मात्रा बढेको जिल्ला कृषिको अनुभव छ ।

जिल्ला कृषिको पहुँच १० प्रतिशत किसानमा मात्र छ। ८७ गाविस र तीन नगरपालिका रहेको काभ्रेमा जिल्ला कृषिमा आबद्ध २ सय किसान समूह छन्। विषादी हट स्पटमा काम गर्न जिल्लासँग ५ लाखमात्र बजेट छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जेठमा सार्वजनिक गरेको अध्ययनअनुसार आम नागरिकले दिनहुँ प्रयोग गरिरहेका आठ खाद्य पदार्थमा विषादीका अंश भेटिएका छन्। विश्व स्वास्थ्य संगठनको सहयोगमा मुलुकका १५ जिल्लामा एक वर्षसम्म गरिएको अध्ययनले काठमाडौंसँग जोडिएका काभ्रे र धादिङजस्ता जिल्लामा खाद्य पदार्थमा विषादीको व्यापक प्रयोग भइरहेको छ।

तरकारी बालीमा थायोडिन, नुभान, मेटासिस्टक्स, डेसिस, डर्सबान, मोनोसिल, थाइमेट, फुराडन, ट्राइजोफस, प्रोपेनोफस, इमिडाक्लोप्रिडलगायत विषादी बढी प्रयोग हुन्छन्। यी विषादी गोलभेंडा र काउलीमा सबैभन्दा धेरै प्रयोग हुने गरेका छन्। ढुसीनासकका रूपमा डायथेन एम ४५, एन्डोफिल एम ४५, धानुका एम ४५, डेरोसाल, बेभिस्टिन, रिडोमिल एमजेड, क्रिलोक्सिल, हिनोसान, केराथेन, ब्लाइटक्स प्रयोग हुन्छन्। पहिले आलुमा ढुसी रोक्न प्रयोग हुने यी विषादी अहिले गोलभेंडा र काँक्रोमा समेत प्रयोग गर्न थालिएको छ। 'सामान्यतया यस्ता विषादी प्रयोग भएको २१ दिनसम्म तरकारी खान योग्य हुँदैन, तर किसानले छर्केको भोलिपल्टै बजार पुर्‍याउने गरेका छन्,' विषादी इन्स्पेक्टर पौडेलले भने।

प्रतिक्रियाहरू (2)Add Comment

No comments:

Post a Comment