Sunday, July 3, 2011

अर्गानिक अभियानमा अमेरिकी दम्पत्ति


बनेपा । बुढ्यौलीमा के गर्ने? सोच फरक फरक हुन सक्छ । तर, अमेरिकाको क्यालिफोर्नियाबाट नेपाल आएका एक वृद्ध दम्पत्ति भने २५ वर्षदेखि नेपाललाई अर्गानिकमै फर्काउन तल्लीन रहेका छन् । ७१ वर्षिय जुडी चेज र उनका पति जिम डेनिस यतिखेर काभ्रेको पात्लेखेत गाउँमा आफूसँगै स्थानीयहरुलाई समेत अर्गानिक खेती सिकाउनमा व्यस्त रहेका छन् ।

यस अघि भक्तपुरको गाम्चामा चेज दम्पत्तिले एप्रोप्रियटिभ एग्रीकल्चर अल्टरनेटिभ्स(ट्रिपल ए) नामक संस्था खालेर स्थानीय महिलाहरुलाई अर्गानिक खेतीमा लाग्न प्रेरणा दिएकी थिइन् ।
यतिखेर त्यहाँका ५० भन्दा बढी महिलाले उत्पादन गरेको अर्गानिक तरकारी राजधानीमा जाने गरेको छ । सन् ८० को दशकमा नेपाल आएका दुबैले तत्कालीन नेपालको खेती प्रणाली पुरै अर्गानिक पाए पनि पछिल्ला वर्षहरुमा यो क्रम घटेको बताएका छन् । ‘बढी फलाउने होडमा किसानहरुले रासायनिक मल र विषादिलाई बढावा दिँदै गएको पाएपछि यो अभियान थालेका हौं’, नर्सरीमा काम गर्दै रहेका चेज दम्पत्तिले भने ।

सदरमुकाम धुलिखेलबाट १२ किलोमिटर दूरीमा बिपी राजमार्गसँगैको पात्लेखेत (पण्डितको चौर)मा उनीहरुले ९ रोपनी जग्गामा अर्गानिक खेती गरेका छन् । यसै नर्सरीमा उनीहरुसँग अर्गानिक खेती सिक्न आउने स्थानीय किसानहरुको संख्या बढ्दो छ । यिनमा महिलाहरुको संख्या बढी छ । तरकारी खेतीसँगै मौरी पालन, सिताके च्याउ खेतीमा समेत नियमित तालिम सुरु गरिएको छ ।

नेपालमा २० वर्ष अघि ‘आर्टीचोक’ नामक तरकारी र विभिन्न खालका सलादलाई अमेरिकाबाट भित्र्याउने चेजले नेपालमै पहिलो पटक ‘बायोइन्टेन्सिभ’ पद्धतिबाट खेती सुरु गरेकी छिन् । क्यालिफोर्नियाका जोन जीभन्सले प्रतिपादित गरेको यस खेती तरिकामै आधारित भएर यहाँ खेती गरिएको छ । ‘बायोइन्टेसिभ तरिकामा थोरै जमीन भएकाले पनि खेती गर्न सक्ने र बाह्रै महिना तरकारी फलाउन सम्भव छ । यो तरिकामा गाईबस्तुको मल नभएपनि अर्गानिक खेती गर्न सकिन्छ’, चेज भन्छिन् ।

रासानियक मल र विषादी प्रयोगले स्वास्थ्यमा असर पर्ने भएकाले आफूहरुले अर्गानिक उत्पादनलाई जोड दिएको जिमले बताए । ‘जानेर वा नजानी नेपालीहरुले रासायनिक मल र विषादी प्रयोग गरेका तरकारी खाइरहेका छन्,’ उनले भने, ‘यो क्रमलाई कम गर्न सकिन्छ कि भनेर हामीले अर्गानिक खेती सुरु गरेका हौं । यो विस्तारै फैलँदै जाने आशा छ,’ जिमले भने ।

अमेरिकाको व्यापार व्यसायलाई चटक्कै छाडेर नेपाल आएकी आएकी चेज र नेपालमै केही समय जर्मन परियोजनामा काम गरेका उनका पति जिम मिलेर पछिल्लो समयमा विद्यालयमार्फत अर्गानिक सचेतना विस्तार गर्न थालेका छन् । गाउँकै सामुदायिक स्कूल कालिदेवी माविमा यी दम्पत्तिले हरेक शुक्रबार अर्गानिक सचेतना कक्षा चलाउने र विद्याथीहरुलाई नर्सरीमा घुमाउन थालेका छन् ।

अहिंसामा विश्वास गर्ने यो दम्पत्तिले अर्गानिक खेती पनि अहिंसा नै हो भन्ने गरेको छ । ‘यस तरिकामा कुनै पनि कीरालाई मारिन्न’ जिमले प्रष्ट्याए । नेपालजस्तो गरिब देशले विदेशी मुद्रा खर्च गरेर किनेकोे रासायनिक मलले माटोको जैविक शक्ति नष्ट गरेपछि उत्पादन र पौष्टिकता दुबै कम हुने भएकाले अर्गानिक खेती उत्तम भएको उनीहरुको भनाई छ । ‘नेपालीको स्वास्थ्यमा दिन प्रतिदिन प्रतिकूल असर परिरहेको बेला सबैले अर्गानिक तरकारीको खेती सुरु गरे राम्रो हुने थियो,’ केही समयअघि विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनको प्रतिवेदन देखाउँदै दुबैले थपे ।

No comments:

Post a Comment