Thursday, July 7, 2011

आइएनजिओका कार्यक्रमहरुः थाहा नदिई करोडौं खर्च



बनेपा । प्रभावकारी अनुमगनको अभावमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजिओ)मार्फत प्राप्त रकमबाट काभ्रे जिल्लामा अधिकांश गैरसरकारी संस्था(गैसस)हरुले आफुखुशी कार्यक्रम सञ्चालन गर्दै आएको खुलासा भएको छ ।
आईएनजीओसँग भएको सम्झौतापत्रसमेत संलग्न राखी जिविसबाट परियोजना प्रस्तावना स्वीकृत गराएर मात्र जिल्लामा कार्यक्रम सञ्चालन गर्न पाइने शर्तमा समाज कल्याण परिषदले सम्झौता गर्ने गरेको छ । ‘तर, यस जिल्लामा एक दुई बाहेकका अधिकांश गैससले स्वीकृति बिना कार्यक्रम गरेका पायौं’, स्थानीय विकास अधिकारी दिलिपकुमार चापागाईंले भने ।
परियोजना सञ्चालन भएको लामो समय बितिसकेपछि मात्रै सम्झौताको संक्षिप्त विवरणसहित परिषदले जिविसलाई बोधार्थ पत्रमात्र पठाउने गरेबाट समेत अनुमगनमा कठिनाई भएको चापागाईंको भनाई छ । ‘पत्र आउँदा आउँदै कतिपय गैससले त कार्यक्रम नै सकेर गइसकेका हुने रहेछन् । कतिपय कार्यक्रम सकिने समयतिरमात्रै सम्पर्कमा आउँदा रहेछन्’ उनले भने ।
काभ्रेसहित दुई जिल्लाका लागि लेजर फाउण्डेसन, क्यानाडामार्फत १ करोड ६० लाख ३० हजार रुपैंयाको सम्झौता भएको समाज कल्याणको पत्र जिविस एनजिओ डेस्कमा देखिन्छ । प्रजनन् स्वास्थ्य समूह संजाल निर्माण तथा क्षमता अभिवृद्धिका लागि प्राप्त रकमले अहर्निश आर्यन बातावरण तथा विकास केन्द्रले २०१० जनवरीबाट कार्यक्रम गर्दै पत्रबाट जानकारी पाइन्छ । तर, उक्त गैससले परियोजनाको २४ महिनाको अवधिमध्ये करिब १७ महिना कार्यक्रम सञ्चालन गरिसकेको छ । यति हुँदाहुँदै पनि कार्यक्रम भएको लामो समय बित्दा समेत यो गैसस जिविस र जिल्ला स्वास्थ्य कार्यालयमा समन्वय गर्न नआएको अधिकारीहरको भनाई छ । काठमाडौंमा दर्ता रहेको यस संस्थाको काभ्रेमा सम्पर्क कार्यालयसमेत छैन ।
काभ्रेसहित ५ जिल्लामा महिला नेतृत्व विकासका लागि भनेर अमेरिकी आइएनजिओ द म्याक कोनेल फाउण्डेसनबाट ४ करोड ४६ लाख ६३ हजार ४ सय ६२ सहयोग आएको देखिन्छ । २ महिनापछि परियोजना नै समाप्त हुने भएपनि कार्यक्रम सञ्चालन गर्ने महिला शक्ति विकास केन्द्र जिविसको सम्पर्कमा आएको छैन । ‘परिषदले पठाएको पत्रमा गैससको ठेगाना नै उल्लेख छैन । उल्लेख भएको टेलिफोन नम्बर पनि गलत रहेछ’, जिविस एनजिओ डेस्कका प्रमुख माया बादेले गैससलाई सम्पर्क गर्न भएको कठिनाईलाई चित्रण गरिन् ।
उनका अनुसार काभ्रेमा बालगृह बनाउन भनि पहिलो प्रेम नेपालनामक गैससले फस्ट लभ इन्टरनेसनल नामक आइएनजिओबाट ५६ लाख ७२ हजार रकम ल्याएको देखिन्छ । यो गैसस पनि जिविसको सम्पर्कमा आएको छैन ।
दक्षिण अफ्रिकी आइएनजीओ एड्स लिंक इन्टरनेसनलबाट एचआइभी विरुद्ध जनचेतना जगाउने भनि काभ्रेमा रकम आएको जानकारी डेस्कमा छ । ललितपुरको एक गैससमार्फत आएको यस रकम काभ्रे जिल्लामा कसले र कसरी खर्च भएको बारेमा कुनै जानकारी नआएको बादेले बताईन् ।
अमेरिकी दूतावासले नेपालका सञ्चारकर्मीका लागि ‘बूट क्याम्प’ भनि राष्ट्रिय सञ्चार विकास केन्द्रनामक गैससमार्फत काभ्रे र काठमाडौंमा कार्यक्रम गर्न ७ लाख ६ हजार रकम सम्झौता गरेको छ । गैससले धुलिखेलमै कार्यक्रम सञ्चालन गरेर गईसकेको बुझिएको छ । दुई महिनापछि परियोजना नै समाप्त हुन लागेको यस गैससले पनि जिविससँग समन्वय गर्नु जरुरी ठानेन ।
जेल परियोजना र बालगृहका लागि भनि बन्दी सहायता नेपाल नामक गैससले काठमाडौं र काभ्रेका लागि बहुदाता(मल्टीपल डोनर्स)बाट १ करोड २५ लाखको कार्यक्रम गर्ने सम्झौता समाज कल्याण परिषदसँग गरेको बोधार्थ पत्र हालैमात्र जिविसमा आएको छ । डिसेम्बर २०११ मा सकिने परियोजनाको जानकारी सम्झौता भएको ३ महिनापछिमात्र जिविसमा आएको थियो ।
दलितहरुको अधिकार प्रवद्र्धन र राजनीतिमा सहभागिता बढाउने भनि अमेरिकी आइएनजिओ नेसनल इण्डाओमेन्ट फर डेमोक्रेसी(एनइडी)ले काभ्रेसहित ४ जिल्लाका लागि ३७ लाख ५० हजार रकम दिएको देखिन्छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण केन्द्रमार्फत यो रकम आएको भएपनि जिविसमा यो गैससले समन्वय गरेको छैन ।
ह्याबिट्याट फर ह्युमानिटी इन्टरनेसनल नामक आइएनजिओले त पहिलो पटक काभे्रको एक सहकारीलाई समेत सहयोग रकम प्रदान गरेको छ । विपन्नहरुलाई घर बनाइदिने परियोजनाका लागि उसले ६ लाख ५० हजार अमेरिकी डलर खर्च गर्ने समाज कल्याण परिषदसँग सम्झौता गरेको छ । यसै अन्तर्गत काभ्रे, पनौतीस्थित उद्यम विकास बचत तथा ऋण सहकारी संस्थालाई नेपाल स्थित कन्ट्री अफिसले २४ हजार अमेरिकी डलर सहयोग गरेको छ । दाता र सहकारी यी दुबै संस्था जिविसको समन्वयमा आएका छैनन् । सहकारीका एक पदाधिकारीले उक्त रकमले विपन्नहरु घर बनाइदिएको दाबी गरेका छन् । तर, कुन ठाउँमा बनाइएको भन्ने बारेमा उनले खुलाउन चाहेनन् ।
सिन्धुपाल्चोकस्थित ग्रामीण महिला सिर्जनशील परिवारले काभ्रेसहित ४ मध्यपहाडी जिल्लाका महिलाहरुका लागि ‘डेभेलेपिङ डेमोक्रेसी इन नेपाल’ परियोजनाका लागि क्यानेडियन अन्तर्राष्ट्रिय विकास निकाय(सिडा)बाट ४० लाख १८ हजार रकम ल्याएको छ । फेब्रुअरी १५ मै परियोजना समाप्त भइसकेको यस गैससले पनि जिविस काभ्रेसँग समन्वय गरेको छैन ।
ज्योरेई उपचार सेवा कार्यक्रमका लागि अभय उपचार केन्द्रले सिन्केनकोक्यो काई नामक जापानी आइएनजिओबाट १ करोड ६३ लाख ५२ हजार रकम खर्च गर्न परिषदसँग सम्झौता गरेको छ । यो गैसस पनि सम्पर्कमा नआएको जिविसले जानकारी दियो ।
यी उदाहरणहरु त केही मात्र हुन् । काभ्रे जिल्लामा ५० भन्दा बढी क्षेत्रमा काम गर्ने भनि विभिन्न आइएनजिओहरुमार्फत रकम आएको देखिन्छ । यिनमा ५ लाखदेखि डेढ करोडसम्मको रकम रहेको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी र सरसफाई, मानव अधिकार, प्रजनन अधिकार, महिला अधिकार, दलित अधिकार, आदिवासी जनजाति, विद्यालय भवन निर्माण, बाल गृह, विद्यार्थी छात्रवृत्ति, पाठेघर जाँच शिविर, विपन्नलाई घर, अवलोकन भ्रमणजस्ता विषयमा बढी रकम आउने गरेको डेस्कले जनाएको छ ।
‘जिल्लास्थित विषयगत कार्यालयले भन्दा यस्ता गैससले बढी खर्च गरेर गएको देखिन्छ । तर, काभ्रेमा दर्ता नभई काठमाडौं र ललितपुरमा दर्ता भएका गैसस भएकाले अनुमगन गर्न कठिनाई भएको छ’, जिल्लास्थित गैससको अनुगमन गर्ने समितिका संयोजक समेत रहेका स्थानीय विकास अधिकारी चापागार्इं बाध्यता दर्शाउँछन् । अनुगमन समितिमा सहायक प्रमुख जिल्ला अधिकारी र महिला विकास अधिकृत सदस्य रहने व्यवस्था छ ।
सम्झौतामा प्रष्ट जानकारी दिँदा दिँदै पनि जिविसमा प्रस्तावना स्वीकृत नगराई कार्यक्रम सञ्चालन गर्ने आइएनजिओ र गैससलाई कारवाही गर्ने र कार्यक्रम नै रोक्न सकिने परिषदका योजना शाखाका सहायक निर्देशक सञ्जयकुमार मल्लिक बताउँछन्, ‘गैैससहरु समन्वय गर्न आएनन् भनेर जिविसले जानकारी दिनु पर्यो । त्यसैका आधारमा नवीकरण सिफारिस र कार्यक्रम नै रोक्न सक्छौें,’ मल्लिकले थपे ।

No comments:

Post a Comment